सभामुखसँग विवादपछि आशिका तामाङको प्रतिबद्धता : ‘अबदेखि भद्र र अनुशासित बन्नेछु’
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफ्नो बानी–व्यवहार सुधार्दै आगामी दिनमा मर्यादित र अनुशासित भएर प्रस्तुत हुने प्रतिबद्धता जनाएकी छन्।
तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत अबदेखि आफूले अनावश्यक रूपमा नरिसाउने, मर्यादा कायम राख्ने र अनुशासन पालना गर्ने बताएकी हुन्।
उनले लेखेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’
तामाङको यस्तो अभिव्यक्ति रास्वपा संसदीय दलको बुधबार बसेको बैठकपछि आएको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई संसद्मा मर्यादित र अनुशासित भएर प्रस्तुत हुन निर्देशन दिएका थिए।
यसअघि मंगलबारको प्रतिनिधिसभा बैठकमा तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच भनाभन भएको थियो। सभामुख अर्यालले नामै तोकेर संसद्को मर्यादा कायम राख्न रुलिङ गरेपछि तामाङ झोक्किँदै बैठक कक्षबाट बाहिरिएकी थिइन्।
घटनापछि तामाङले आगामी दिनमा आफ्नो व्यवहार सुधार्ने प्रतिबद्धता सार्वजनिक गरेकी हुन्।