धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्ने योजना
नवलपरासी — धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्ने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा पेस गरेको छ।
करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट फलाम उत्खनन गर्ने योजना कम्पनीले अघि सारेको हो। खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
कम्पनीले पेस गरेको योजना स्वीकृत भएपछि फलामको भण्डारबारे थप अनुसन्धान तथा उत्खननसम्बन्धी काम अघि बढाउने जनाएको छ। नेपालमै व्यावसायिक रूपमा फलाम उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी स्थापना गरिएको हो।
कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार भूमिगत फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ सम्पन्न गरिएको छ।
हाल खानीको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम भइरहेको कम्पनीले जनाएको छ। साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने बताइएको छ।
खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले नेपालको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए। उनका अनुसार खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्नेछ।
खानीसम्म पहुँचका लागि आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको कामसमेत भइरहेको कम्पनीले जनाएको छ।