विद्युत्मा लगाइएको कर खारेज गर्न उज्यालो नेपालको हस्ताक्षर अभियान
काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत्मा सरकारले लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउनुपर्ने र विद्युत्मा लगाइएको कर खारेज गर्नुपर्ने मागसहित पार्टीले अभियान थालेको हो।
काठमाडौंको माइतीघरमा अभियान सुरु गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले विद्युत् तथा इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै कर लगाएको भन्दै त्यसलाई खारेज गर्न माग गरे।
इन्डक्सन र चार्जिङ स्टेसन सञ्चालन गर्दा ट्रान्सफर्मर तथा विद्युत् लाइनमा समस्या आउँछ भन्दै सम्बन्धित जिम्मेवार निकायबाट भ्रम फैलाउने काम भइरहेको आरोप लगाउँदै घिसिङले आपत्ति जनाए।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग व्यापक विस्तार गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा सरकारले विद्युतीय सवारीमा ७० देखि ८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पुनः पेट्रोल, डिजेल र ग्यासको आयातलाई प्रोत्साहन गर्ने गलत नीति लिएको उनको भनाइ थियो।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै घिसिङले राइड सेयरिङमा आबद्ध व्यक्ति तथा मासिक २०–३० हजार रुपैयाँ कमाउने सामान्य श्रमिकमाथि समेत करको भार थोपर्ने काम भइरहेको भन्दै विरोध गरे।
उज्यालो नेपालले विद्युत् खपत बढाउने तथा विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।