बाढी प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नउडाउन सरकारको निर्देशन
काठमाडौं — सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नउडाउन निर्देशन दिएको छ।
रसुवाको भोटेकोशी बाढीपछि उद्धारमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका प्रशासन कार्यालयलाई पत्राचार गर्दै हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिमार्फत उद्धार उडान व्यवस्थित गर्न निर्देशन दिएको छ।
नेपाली सेनाको हेलिकप्टर आवश्यक परे सेनासँग र निजी हेलिकप्टर आवश्यक परे प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत समन्वय गर्न भनिएको छ।
जथाभाबी उडानबाट हुनसक्ने सम्भावित दुर्घटना तथा प्राविधिक जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।