रसुवा बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार ३४७ जना सम्पर्कविहीन
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
प्राधिकरणका अनुसार बाढीमा परी २६७ जना घाइते भएका छन् भने ४ हजार ३४७ जना अझै सम्पर्कविहीन छन्। बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्लाहरू प्रभावित भएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
उनका अनुसार बाढी तथा पहिरोमा फसेका १० हजार ४५९ जनाको हालसम्म उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत ३ हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ।
सरकारले मुख्य प्रभावित जिल्लाका रूपमा रहेका रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ नगद राहत सहयोग उपलब्ध गराएको छ। त्यस्तै, प्रभावित १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्यसमेत भइरहेको छ। खोज, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने काम जारी रहेको जनाइएको छ।