बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान बानेश्वर क्षेत्रमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरुषले हातपात गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० मा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
प्रहरीका अनुसार कठायत जथाभावी बाटो काट्न खोजिरहेका थिए। ड्युटीमा रहेकी महिला प्रहरी जवानले उनलाई आकाशे पुल प्रयोग गरेर बाटो काट्न अनुरोध गरेकी थिइन्।
सोही क्रममा कठायतले महिला प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।