सानागाउँमा मूर्ति र गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट तामा, पित्तल र चाँदीका गरगहना तथा अन्य धनमाल चोरी गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
साउन ३० गते साँझ ६ बजे ताम्राकारको घरमा चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चोरीका सामानसहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२६ लैनचौर घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने ३१ वर्षीय अनिल खड्गी रहेका छन्।
प्रहरीले उनको कब्जाबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला र अष्ट मण्डल एक-एक थान बरामद गरेको छ। त्यसैगरी चाँदीको जस्तो देखिने टिका दानी र कल्ली, चरेशको थाली दुई थान, पितलको पन्यु, १२ इन्चको ताराको मूर्ति, ८ इन्चको बुद्धको मूर्ति, पितल र ढलोटको अन्ती, सोपिस टोप तथा दुरबिन एक-एक थान बरामद गरिएको छ।
त्यस्तै रोलेक्स र क्वार्ज घडी, सुनको जस्तो देखिने सिक्री र ब्रासलेट, पोते माला, टप्स कपडा तीन थान, कुर्थासुरुवाल सेट दुई थान, स्वीटर र सल एक-एक थानसहित अन्य विविध सामान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका खड्गीमाथि चोरी सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।