सरकारले सार्वजनिक गर्यो पछिल्लो एक साताका मुख्य काम
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा सरकार र मातहतका निकायबाट भएका मुख्य काम तथा उपलब्धि सार्वजनिक गरेको छ।
साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गरिएको जानकारी दिए। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा सञ्चालनलाई व्यवस्थित गर्न ६ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरिएको छ।
यस अवधिमा नीति अनुसन्धान प्रतिष्ठानले तयार गरेका आठ वटा प्रतिवेदन आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाइएको छ। यस्तै, नागरिकले तत्काल अनुभूति गर्ने ६५ वटा कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयलाई अवधारणापत्रको मस्यौदा उपलब्ध गराइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री तथा मुख्यसचिवसँग चालु आर्थिक वर्षका कार्यसम्पादन सूचक, मुख्य क्रियाकलाप र अनुगमन विधिसहित कार्यसम्पादन सम्झौता गरेका छन्। सम्झौताको नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ।
यस्तै, मलसम्बन्धी समस्या समाधानका लागि १२ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। सरकारले सरकारी कार्यालयमा स्वदेशी उत्पादन तथा नेपाली हस्तकलाका सामग्री प्रयोगलाई प्राथमिकता दिन परिपत्रसमेत जारी गरेको छ।
राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका २९ सरकारी निकायको अनुगमन गर्दा २५७ कर्मचारीले समय पालना नगरेको र ४५ जनाले तोकिएको पोसाक नलगाएको पाइएको जनाएको छ। विभिन्न सरकारी कार्यालयमा गरिएको थप अनुगमनमा १०० भन्दा बढी कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको र कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।