नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको बजारमा
नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार थालेको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलङ्काको दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो।
सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि टिङटिङले श्रीलङ्काली बजारमा ‘कनेक्ट’, ‘ओम्नी’, ‘ब्रोडकास्ट’ र ‘एजेन्ट’ लगायतका डिजिटल सञ्चार सेवा उपलब्ध गराउन थालेको छ। यी सेवाले ग्राहक संवाद व्यवस्थापन, एकीकृत सन्देश प्रणाली, स्वचालित भ्वाइस कल तथा एआईमार्फत ग्राहकसँग संवाद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
नेपाली भाषामा उपलब्ध टिङटिङका सेवा अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत सञ्चालन भइरहेका छन्। श्रीलङ्काली बजारलाई लक्षित गर्दै तमिल र सिंहली भाषाका लागि थप परिष्कृत भ्वाइस मोडल विकासमा पनि कम्पनीले काम गरिरहेको जनाएको छ।
कम्पनीले डायलगसँगको सहकार्यलाई नेपाल र श्रीलङ्काबीच प्रविधिको बलियो इकोसिस्टम निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। नेपाली प्रविधि उत्पादनको अन्तर्राष्ट्रिय विस्तारले नेपालमा सफ्टवेयर तथा सूचना प्रविधि निर्यातको सम्भावना थप बढाउने अपेक्षा गरिएको छ।