साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ सम्मको अवधिमा श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला रहेका छन् ।
कुल स्वीकृतिमध्ये ४२ हजार ६ सय ९३ जना नयाँ श्रम स्वीकृति लिने कामदार रहेका छन् । उनीहरूमध्ये ३६ हजार ३ सय ३९ पुरुष र ६ हजार ३ सय ५४ महिला छन् । यस्तै, २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
साउनमा नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । यूएईका लागि मात्रै १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति पाएका छन् ।
यसैगरी, कुवेतका लागि ४ हजार ५ सय ६७, रोमानियाका लागि २ हजार ९ सय ८, जापानका लागि १ हजार २ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्सलगायतका देश पनि नेपाली कामदारका प्रमुख गन्तव्यका रूपमा देखिएका छन् ।
दक्षताका आधारमा हेर्दा वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको संख्या सबैभन्दा धेरै छ । कुल श्रम स्वीकृति लिने ७० हजार ४ सय ४१ जनामध्ये ४० हजार ४ सय ९६ जना दक्ष कामदार छन् । यस्तै, १७ हजार ९ सय ९९ जना अदक्ष, ११ हजार ४ सय ६५ जना अर्धदक्ष, ३ सय ७८ जना व्यावसायिक र १ सय ३ जना उच्च दक्ष कामदार रहेका छन् ।
जिल्लागत रूपमा हेर्दा मधेश र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य देखिएको छ । सबैभन्दा धेरै धनुषाका ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार सो अवधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले वैदेशिक रोजगारीको अनुमति पाएका छन् । व्यक्तिगत रूपमा नयाँ जाने कामदारको संख्या १२ हजार ४ सय ४२ रहेको छ भने सरकारी स्तरको सम्झौतामार्फत ७ सय १२ जनाले रोजगारीको अवसर पाएका छन् । वैधानिकीकरणमार्फत थप ९२ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् ।