नेपाली किशन भण्डारी बने उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीको उपकुलपति
काठमाडौं — नेपाली नागरिक किशन भण्डारी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीको उपकुलपतिमा नियुक्त भएका छन्।
यसअघि विश्वविद्यालयको मेडिकल शिक्षातर्फ डीनका रूपमा कार्यरत भण्डारी शनिबार उपकुलपतिमा नियुक्त भएका हुन्। उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्ने बताए।
भण्डारीका अनुसार विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयलाई थप स्थापित गर्ने आफ्नो मुख्य जिम्मेवारी हुनेछ।
विश्वविद्यालयमा मेडिकल शिक्षासँगै सूचना प्रविधि (आईटी), बिजनेस तथा व्यवस्थापनलगायत क्षेत्रमा गरी ९० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। विश्वविद्यालयमा करिब ३३ हजार विद्यार्थी अध्ययनरत रहेको भण्डारीले बताए।
भण्डारी सन् २००९ मा छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि रुस पुगेका थिए। उनले सन् २०१३ मा एमबीबीएस पूरा गरेपछि मस्कोबाट किर्गिस्तान पुगे।
किर्गिस्तानको जलालाबादस्थित स्टेट मेडिकल इन्स्टिच्युटबाट न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरेका उनले केही समय त्यहीँ काम गरेका थिए। सो क्रममा उनी सहायक डीनसमेत बनेका थिए।
पछिल्लो तीन वर्षदेखि भने भण्डारी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा मेडिकल शिक्षातर्फ डीनका रूपमा कार्यरत थिए। अब उनले सोही विश्वविद्यालयको उपकुलपतिका रूपमा नेतृत्व सम्हाल्ने भएका छन्।