करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने भएको हो।
साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका छन्। विभागका अनुसार पुरस्कार योजनाको सुरुआती पहिलो महिनामै सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
मन्त्रालयका अनुसार साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो।
यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा सहभागी कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।
यिनै कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ। साउन १६ देखि ३१ गतेसम्मका १७ दिनमा प्रत्येक दिन एक जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेछन्। कर कटाएर विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरी, सबै सहभागीमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने विभागले जनाएको छ।
आजको कार्यक्रममा साउनको पहिलो पाक्षिकमा पुरस्कार जित्ने विजेतालाई नगद पुरस्कारसमेत प्रदान गर्ने कार्यक्रम रहेको छ।