रसुवामा तिब्बतबाट आएको भीषण बाढी, ठूलो जनधनको क्षति; सयौँ बेपत्ता
काठमाडौं — तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोशी नदीमा ठूलो विपद् निम्त्याएको छ। बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मेलुङलगायतका क्षेत्रमा घर, सडक, पुल, सवारीसाधन तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ।
बाढीको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहे पनि पछिल्लो विवरणअनुसार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सयौँ मानिस सम्पर्कविहीन छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा ३८४ यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण छ, जसमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। विदेशीमध्ये १०५ जना भारतीय नागरिक रहेको जनाइएको छ।
टिमुरे सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीले रसुवाका विभिन्न युनिटमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन रहेको जनाएको छ। सशस्त्र प्रहरीतर्फ पनि कर्मचारी बेपत्ता भएको विवरण आएको छ।
बाढीले रसुवागढी नाका आसपासका संरचना तथा सडकमा व्यापक क्षति पुर्याएको छ। बजार क्षेत्र, सुरक्षा पोस्ट, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रमा फैलिँदै नुवाकोट र धादिङसम्म पुगेपछि त्रिशूली नदी आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको वास्तविक कारण अझै औपचारिक रूपमा पुष्टि भइसकेको छैन। प्रारम्भिक वैज्ञानिक आकलनमा तिब्बततर्फ हिमपहिरोले लेन्दे खोला थुनेपछि पानी जम्मा भएर एक्कासि फुटेको हुन सक्ने आशंका गरिएको छ। अधिकारीहरूले हिमताल विस्फोटलगायत सम्भावित कारणबारे समेत अध्ययन गरिरहेका छन्।
बाढीले करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमतासँग सम्बन्धित संरचनामा असर पारेको प्रारम्भिक विवरण छ। चिलिमे जलविद्युत् आयोजनालगायतका परियोजनामा समेत क्षति पुगेको छ।
सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खोज तथा उद्धारमा परिचालन गरेको छ। नेपाली सेनाका हेलिकोप्टरमार्फत उद्धार प्रयास भइरहेको छ भने प्रभावित क्षेत्रमा मेडिकल टोली, रेडक्रस, स्काउट तथा अन्य उद्धारकर्मी परिचालन गरिएको छ।
बाढीको तीव्र बहाव र प्रभावित क्षेत्रमा पुगेको क्षतिका कारण उद्धारमा कठिनाइ भइरहेको छ। नदी किनारका बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ जान तथा त्रिशूली नदीमा नजान प्रशासनले आग्रह गरेको छ।
यसैबीच, बाढीको बहाव त्रिशूली हुँदै थप तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सतर्कता बढाइएको छ। घटनाको क्षति र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
गत वर्षसमेत रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको थियो। यसपटकको बाढीले भने सीमा क्षेत्रदेखि तल्लो तटीय बस्ती र पूर्वाधारसम्म व्यापक असर पारेको छ।