मोबाइल एपमार्फत सट्टेबाजी गराउने आरोपमा एक जना पक्राउ
मोबाइल क्यास एप्लिकेसनमार्फत सट्टेबाजी गराउने आरोपमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम थापा रहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शुक्रबार साँझ ५ः३० बजे भद्रकालीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार थापा शंकास्पद अवस्थामा देखिएपछि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उनको साथबाट चार थान मोबाइल फोन र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापाले 1xBet, 1XBET Partners र MobCash Application प्रयोग गरी सट्टेबाजी गर्ने तथा गराउने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
सट्टेबाजी गर्न तथा गराउन नहुनेसम्बन्धी कसुरमा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।