बाजुरामा पहिरोले दुई घरमा क्षति, ११५ जना सुरक्षित स्थानमा सारिए
बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा अविरल वर्षासँगै आएको पहिरोले दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोको जोखिम बढेपछि आसपासका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बिहीबार दिउँसो खसेको पहिरोले स्थानीय ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीसमेत पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार पहिरोको जोखिम अझै कायम रहेकाले थप क्षति हुन नदिन आसपासका घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। विस्थापित परिवारलाई हाल अस्थायी टहरामा राखिएको छ।
पहिरोले पुरिएका घर तथा सामान निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तर, लगातार वर्षा भइरहेकाले घटनास्थलमा थप पहिरो जान सक्ने जोखिम रहेको छ। प्रहरीले स्थानीयवासीलाई जोखिमयुक्त क्षेत्रमा नजान र मौसमको अवस्था हेरेर मात्र आवतजावत गर्न आग्रह गरेको छ।
यसैबीच, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पहिरो प्रभावित तथा विस्थापित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन गाउँपालिकाबाट टोली परिचालन गरिएको बताएका छन्। प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, त्रिपाललगायतका सामग्री उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।
गाउँपालिकाले पहिरोबाट प्रभावित परिवारको अवस्थाबारे थप विवरण संकलन गर्दै आवश्यक सहयोगको व्यवस्थापन गरिरहेको जनाएको छ। स्थानीय सामाजिक संघसंस्था तथा अन्य निकायलाई समेत प्रभावित परिवारको उद्धार तथा राहतमा सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
लगातारको वर्षाका कारण बाजुराका ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।