रौतहटमा प्रहरीमाथि तस्कर समूहको आक्रमणः २ जना पक्राउ
रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल बजारमा तस्करीको सामान नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ । आक्रमणका क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सशस्त्र प्रहरी निरीक्षकको मोबाइलसमेत खोसेका थिए ।
घटना भदौ १ गते बिहान करिब ९ः५५ बजेको हो । भारतबाट अवैध रूपमा ठूलो परिमाणमा मोटरपार्ट्स ल्याइँदै गरेको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवाबाट खटिएको टोली सामान नियन्त्रणमा लिन बंकुल बजार पुगेको थियो ।
सशस्त्र प्रहरी टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोजेपछि तस्कर समूह आक्रोशित हुँदै प्रहरीमाथि जाइलागेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआइजी विष्णु भट्टराईले बताए ।
उनका अनुसार तस्कर समूहले एक्कासी ढुंगा प्रहार गर्दा बीओपी सरमुजवाको टाटा टेल्को डबल क्याब गाडीको अगाडिको सिसा चर्किएको छ भने पछाडिको ढोकामा समेत क्षति पुगेको छ ।
ढुंगा प्रहारबाट सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पुलामी मगरको औंलामा चोट लागेको छ । यस्तै, सशस्त्र प्रहरी जवान महमद जाहुल हकको टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
आक्रमणकै क्रममा तस्कर समूहले निरीक्षक पुलामी मगरको मोबाइलसमेत खोसेका थिए । केही समयपछि भने उक्त मोबाइल फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै भदौ ३ गते राति बौधिमाई नगरपालिका–७ का करिब ४० वर्षीय शिवपुजन यादव र वडा नम्बर ८ का करिब ३५ वर्षीय नवल यादवलाई उनीहरूकै घरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ६ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय तस्करीको सामान नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि नै तस्कर समूहले आक्रमण गर्ने घटना बढ्दै गएको प्रहरीको भनाइ छ । रौतहटको बंकुल क्षेत्र तस्करीको ‘हटस्पट’ बन्दै गएको प्रहरीकै दाबी छ ।