सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए
ललितपुर — ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।
सहमति भएपछि आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको हो।
धर्नामा सहभागी झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको छ।
सरकारसँग भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि पुल्चोकमा जारी लघुवित्त ऋणीहरूको धर्ना तत्कालका लागि स्थगित भएको हो।