बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
नुवाकोट — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। उनीहरू बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।
संसद् र राजनीतिक गतिविधिका बीच सर्वदलीय बैठक तथा छलफल चलिरहेका बेला प्रधानमन्त्री शाह भने उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रत्यक्ष रूपमा सहजीकरण गर्न प्रभावित क्षेत्रमा पुगेका हुन्। यसअघि उनले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्री लम्सालले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकायसँग बाढीबाट भएको क्षति, राहत वितरण र पुनर्निर्माणका विषयमा छलफल गर्नेछन्।
बाढीका कारण अवरुद्ध सडक, पुल, विद्युत् लगायतका अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनसमेत उनले जोड दिएका छन्।
सरकारले प्रभावित नागरिकको उद्धार, राहत वितरण र अत्यावश्यक सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।