आलोचनाबाट उपलब्धितर्फ धर्मराज केसी, लमजुङमा ६ अर्बभन्दा बढी विकास योजना भित्र्याएको दाबी
केही समयअघिसम्म लमजुङको राजनीतिक वृत्तमा एउटा प्रश्न बारम्बार उठ्ने गर्थ्यो—"प्रतिनिधिसभा सदस्य धर्मराज केसीले जिल्लाका लागि के गरे?" सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उहाँको भूमिकामाथि आलोचना हुने गरेको थियो। तर आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक भएका विकास योजना र बजेटले त्यो बहसलाई नयाँ मोड दिएको छ।
सांसद धर्मराज केसीले सार्वजनिक गरेको विवरणअनुसार लमजुङका लागि ६ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना तथा बजेट व्यवस्थापन भएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन तथा अन्य पूर्वाधारसँग सम्बन्धित योजनाहरू बजेटमा समेटिएका छन्। साथै जिल्ला सदरमुकामबाट पालिका केन्द्र, पालिका केन्द्रबाट वडा कार्यालय, कृषि तथा पर्यटन सडक र रणनीतिक महत्वका सडक निर्माणका लागि थप बजेट व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
सांसद केसीको सचिवालयले विकासका विषयमा तथ्य नबुझी टिप्पणी नगर्न आग्रह गर्दै सार्वजनिक गरिएका योजनाको अध्ययन गरेर तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ। विकासका विषयमा पूर्वाग्रहभन्दा परिणामलाई आधार बनाएर मूल्याङ्कन हुनुपर्ने सचिवालयको भनाइ छ।
धर्मराज केसीको कार्यशैली पनि अहिले चर्चाको विषय बनेको छ। प्रचारभन्दा कामलाई प्राथमिकता दिने, समय मिल्नेबित्तिकै जिल्लामा पुगेर स्थानीयका समस्या सुन्ने र सम्बन्धित निकायसम्म पुर्याउने शैलीले उहाँलाई फरक बनाएको स्थानीयहरू बताउँछन्। धेरै नबोल्ने स्वभावका कारण आलोचना खेपेका उहाँ अहिले भने विकासका एजेन्डाका कारण सकारात्मक रूपमा चर्चामा आउन थालेका छन्।
उहाँको पहलमा अघि बढेको भकुण्डे–उदिपुर–सानोधिमिरे वैकल्पिक सडक अहिले विशेष चर्चामा रहेको योजना हो। बेँसीसहर–मनाङ सडक पहिरोका कारण अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने यो सडकका लागि २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। साथै बरबोट क्षेत्रको सडक निर्माणका लागि पनि बजेट छुट्याइएको छ। जानकारहरूका अनुसार यो सडक विपद्का बेला लमजुङ र मनाङलाई जोडिराख्ने रणनीतिक मार्ग बन्न सक्ने सम्भावना बोकेको छ।
समग्र रूपमा हेर्दा यस वर्ष लमजुङका लागि विकास बजेट उत्साहजनक देखिए पनि जिल्लाको आवश्यकता अझै धेरै छन्। डुम्रे–बेँसीसहर सडक विस्तार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्रमा थप लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ। त्यसैले अहिलेको बजेटलाई अन्तिम उपलब्धि नभई लमजुङको विकास यात्राको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।