धनुषाको मन्दिर परिसरमा भएको मृत्यु धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
धनुषा — धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक व्यक्ति मृत फेला परेको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मधुसुधन न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी रहेको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानबाट उक्त घटना आपराधिक व्यक्तिहरूबाट भएको देखिएकाले यसलाई अन्य विवादको विषय नबनाउन प्रहरीले आग्रह गरेको हो।
प्रहरीका अनुसार घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको भन्दै प्रहरीले शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न नागरिकलाई अपिल गरेको छ।
प्रहरीले कडेरी मन्दिरका पुजारी नभई घुमन्ते जीवन बिताउने व्यक्ति रहेको र बाहिर कामकाज गरी राति मन्दिरमा सुत्न आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
मृतकको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।