अन्तर्राष्ट्रिय बाघ दिवसमा उपराष्ट्रपति यादवको बाघ संरक्षणमा जोड
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाघ संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउन आह्वान गरेका छन्। उनले बाघ पारिस्थितिक सन्तुलनको आधारस्तम्भ भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
बुधबार जारी शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले अवैध शिकार, वन विनाश, डढेलो, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनका कारण विश्वभर बाघको अस्तित्व चुनौतीमा परेको बताएका छन्। उनले दिवसले संरक्षणप्रति जनचेतना बढाउनुका साथै दीर्घकालीन संरक्षण योजना बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपालले पछिल्लो दशकमा बाघ संरक्षणमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले संरक्षित क्षेत्रको व्यवस्थापन, चोरी–शिकारी नियन्त्रण र स्थानीय समुदायको सहभागिताले बाघको संख्या बढाउन सहयोग पुगेको बताए। तर मानव–वन्यजन्तु द्वन्द्व, बासस्थान खण्डीकरण र जलवायु परिवर्तन अझै चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
उपराष्ट्रपतिले बाघ संरक्षणले जैविक विविधता जोगाउनुका साथै पर्यटन विकास र स्थानीय समुदायको आर्थिक लाभमा समेत योगदान पुर्याउने बताए। उनले बाघको अस्तित्व जोगाउनु वातावरणीय सन्तुलन र भविष्यको सुरक्षासँग जोडिएको विषय भएको उल्लेख गर्दै संरक्षण अभियानमा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।