सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि गत कात्तिक २ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्यको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि कात्तिक २ गते चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनचाँदी दुवैको मूल्य घटेसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबारमा नयाँ मूल्य कायम भएको छ।