छानबिनबाट सफाइ पाउनेमा पूर्वगृहमन्त्री गुरुङ आशावादी
गोरखा, असार ७ — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट आफूले पूर्ण सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू सधैं जिम्मेवार रहेको बताए। छानबिन प्रक्रियालाई सहज बनाउनकै लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको उनको भनाइ थियो।
छानबिन समितिले सम्पत्तिको स्रोतबारे कडा प्रश्नहरू सोधेको उल्लेख गर्दै गुरुङले आफूले सबै प्रश्नको स्पष्ट जवाफ दिएको बताए। बयानका क्रममा भएको एक प्रसंग स्मरण गर्दै उनले समितिलाई प्रतिप्रश्न गरेको अनुभव पनि सुनाए।
“समितिले ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर सोध्यो। मैले पनि ‘तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरेको थिएँ,” उनले ठट्यौली शैलीमा भने।
गुरुङका अनुसार छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइसकिएको छ। उनले प्रतिवेदनबाट आफू निर्दोष सावित हुने र सफाइ पाउने अपेक्षा व्यक्त गरे।
साथै, यदि सरकारले पुनः गृहमन्त्रीको जिम्मेवारी सुम्पिएमा सुरुका दुई महिना बधाई दिन वा तस्बिर खिच्न मन्त्रालयमा नआइदिन आग्रह गरे। “कामलाई प्राथमिकता दिन चाहन्छु, त्यसैले सुरुका दुई महिना यस्तो सहयोग गरिदिनुहोला,” उनले भने।
कार्यक्रममा उनले रास्वपाको संगठन निर्माण र नेतृत्व विकासबारे पनि धारणा राखे। अब बन्ने जिल्ला नेतृत्व राजधानीकेन्द्रित नभई जनतासँग निरन्तर सम्पर्कमा रहने खालको हुनुपर्नेमा उनले जोड दिए।