रास्वपाको ‘प्रदेश सभा खारेजी’ एजेण्डामाथि सीके राउतको कडा आपत्ति
काठमाडौं — जनमत पार्टी का अध्यक्ष डा. सीके राउत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रदेश सभा खारेजी’ एजेण्डाबारे कडा आलोचना गरेका छन्।
रास्वपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने प्रस्ताव पारित भएपछि राउतले त्यसलाई “चरम राजनीतिक बेइमानी” भन्दै आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त निर्णय जनतासँगको धोका भएको आरोप लगाएका छन्।
राउतका अनुसार चुनावका बेला मधेश, संघीयता र प्रदेश अधिकारको पक्षमा उभिएर मत माग्ने तर अहिले प्रदेश संरचना नै हटाउने निर्णय गर्नु राजनीतिक रूपमा असंगत र अविश्वसनीय भएको टिप्पणी गरेका छन्।
उनले प्रदेश कायम राखेर प्रदेश सभा हटाउने अवधारणालाई पनि अस्वीकार गर्दै त्यसले संघीयताको मर्म कमजोर बनाउने तर्क गरेका छन्। साथै, स्थानीय तहका प्रमुखहरूलाई समेटेर प्रदेश सभा बनाउने प्रस्ताव व्यवहारिक नहुने उनको भनाइ छ।
रोचक रूपमा, केही दिनअघि चितवनमै आयोजित महाधिवेशन उद्घाटन समारोहमा राउतले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह को प्रशंसा गर्दै उनलाई “अलगै स्तरका नेतृत्व” भनेर चित्रण गरेका थिए। तर महाधिवेशनबाटै विवादित प्रस्ताव पारित भएपछि उनले सार्वजनिक रूपमा कडा असन्तुष्टि जनाएका हुन्।
रास्वपाले भने आफ्नो महाधिवेशनमार्फत संघीय संरचनाबारे वैकल्पिक राजनीतिक दृष्टिकोण अघि सारेको बताइएको छ।