विराटनगरको परोपकार घाटमा अश्लील गतिविधि गरेको आरोपमा चार युवक पक्राउ
विराटनगर — कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति निर्वस्त्र भएर अश्लील गतिविधि तथा नृत्य गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङ का अनुसार सोमबार मध्यराति विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट (दाहसंस्कार स्थल) मा हो–हल्लासहित अश्लील तथा अमर्यादित गतिविधि गरिएको थियो।
प्रहरीले पक्राउ पर्नेमा विराटनगर–६ का ४४ वर्षीय शंकरमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानस काफ्ले र विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेको जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक स्थलमा अश्लील व्यवहार र अमर्यादित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।