ललितपुरमा घरमै राहदानी सेवा, एक महिनामै ४३ सेवाग्राहीलाई वितरण
ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुर ले सेवा सञ्चालन भएको एक महिनामा ४३ जना सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ।
सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था लागू गरेसँगै गत वैशाख २२ गतेदेखि ललितपुरमा यो सेवा सुरु गरिएको हो।
कार्यालयका अनुसार हालसम्म ६४ जनाले घरमै राहदानी प्राप्त गर्ने विकल्पसहित आवेदन दिएका मध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी प्रक्रिया जारी रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब १,१०० राहदानी जारी हुने गरेको छ। उनले घरमै राहदानी सेवा लिने सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताइन्।
जिल्ला हुलाक कार्यालयका अनुसार गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण भइसकेको छ। यद्यपि ललितपुर महानगरपालिका र गोदावरी क्षेत्रका सेवाग्राहीले यो सेवा बढी उपयोग गरिरहेका छन् भने दुर्गम क्षेत्रबाट सहभागिता अपेक्षाकृत कम रहेको बताइएको छ।
हुलाक सेवा प्रमुख रमा पन्तका अनुसार स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवा वितरणमा ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको छ। उनले सरकारी तथा बैंकिङ कागजात वितरणमा हुलाक सेवाको प्रयोग अझै पनि महत्वपूर्ण रहेको बताइन्।