काठमाडौं उपत्यकामा ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ विस्तार गर्ने तयारी
काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्तार गर्ने योजना अघि सारेको छ।
कार्यालयले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सिसिटिभी र स्वचालित निगरानी प्रणालीमार्फत ट्राफिक नियमको अनुगमन तथा कारबाही गर्न सकिने ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ लाई योजनाबद्ध रूपमा विस्तार गर्ने जनाएको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार यो प्रणालीले प्रविधिको प्रयोगमार्फत बढी विश्वसनीय र प्रभावकारी सेवा प्रवाह गर्न सहयोग गर्नेछ।
उनले “जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” भन्ने नारासहित असार १ गतेदेखि ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन भइरहेको जानकारी दिए। सडक अनुशासन र दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी भएको भन्दै उनले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।
सुवेदीका अनुसार उपत्यकामा करिब १,६०० ट्राफिक प्रहरी परिचालन गरिएको छ। पर्याप्त जनशक्ति र स्रोतसाधन परिचालन भए पनि सवारी साधनको तीव्र वृद्धि र पूर्वाधार विस्तारको असन्तुलनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको उनले स्वीकार गरे।
कार्यालयले आगामी दिनमा प्रविधिको अधिकतम उपयोग गर्दै सडक अनुशासन सुधार र दुर्घटना न्यूनीकरणमा जोड दिने जनाएको छ।