लागूऔषध सहित ३ जना पक्राउ
विभिन्न जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ र नवलपरासीबाट ३ जना पक्राउ परेका हुन् ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ५ किलो ७ सय ग्राम गाँजासहित धादिङ थाक्रे गाउँपालिका–१ बस्ने १९ वर्षीय सुमन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख. ५९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै,नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–१ जैकुटी पार्टी प्यालेस नजिकबाट स्पास्मो प्रोक्सिभन ३४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१६ बस्ने ३० वर्षीय जसबहादुर थापा र सोही नगरपालिका–१४ बस्ने ३० वर्षीय सन्तोष थापा सुनारी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।