डोजर चल्नुअघि नै थापाथलीको सुकुम्बासी शिविर खाली हुँदै
शुक्रबार बिहानैदेखि थापाथली सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ । गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा सजिएका छन् । केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन् ।
सरकारले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन् । तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ उनीहरूमा ।
'हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन । हिजो माइकमै ‘सामान सुरक्षित राख्नू’ भनेर मात्रै भने । त्यसैले हामी सामान जोगाइरहेका छौँ, तर बस्ने ठाउँ त कतै छैन', एक महिलाले भनिन् ।
बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ । प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारुढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन् । उनीहरूको मुख्य चिन्ता एउटै छ– स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस् ।
'हामी काम गरेर पेट पाल्ने मान्छे हौँ,' अर्का एक बासिन्दा भन्छन्, 'जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ । बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ ।'
केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक, नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ । 'हामी रहरले यहाँ बसेका होइनौँ, बाध्यताले बसेका हौँ,' एक वृद्धले भने, 'अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन ।' अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन् ।