शंकर साह बनिया हत्या प्रकरण: प्रहरीसहित दुई जना जेल चलान
जिल्ला अदालत रौतहटले शंकर साह बनिया हत्या प्रकरणमा दुई आरोपीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको छ। प्रहरीका वरिष्ठ हवल्दारसहित दुईजनाविरुद्ध पुर्पक्षको आदेश जारी भएको हो।
फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका वरिष्ठ हवल्दार हरदेव राय यादव र कपिलदेव यादवलाई जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको एकल इजलासले आइतबार अबेर साँझ थुनामा पठाउने आदेश दिएको हो।
जग्गा विवादका क्रममा स्थानीय शंकर साहको हत्या आरोपमा दुई साता अघि दुवै जना पक्राउ परेका थिए। विवादकै क्रममा दुवैले मिलेर हत्या गरेको शंकरका परिवारजनको आरोप छ। अदालतमा थुनछेक बहस सुरु हुनासाथ पीडित परिवारले न्यायको माग गर्दै साँझसम्म अदालत बाहिरको मुख्य गेटमा धर्ना दिएका थिए।
साँझ अदालतले दुवै जनामाथि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। मुलुकी फौजदारी कार्यविधिसंहिता अनुसार उनीहरूलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरिएको अदालतका उपसचिव केशरनाथ अर्यालले जानकारी दिए। गत असोज २६ गते जग्गा विवादका क्रममा शंकर साहको कुटपिटबाट मृत्यु भएको थियो।