भक्तपुरमा परम्परागत र ऐतिहासिक राँगो दौडाउने जात्रा
खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको दिन मनाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिई जात्रा मनाउन थालिएको हो ।
यो जात्रालाई मोहनी नखाःको एक महत्त्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ । महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुप धारण गर्ने र महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेयको बलिसहित पूजा गरेर जात्रा मनाउने गरिएको स्थानीयको भनाइ छ ।
नवदुर्गा देवगृहमा राखिएका खःमेयलाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्याइन्छ । बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ ।
उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नास हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।