कारागारबाट निस्कन मानेनन् दीपक मनाङे
बुधबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट केही कैदीबन्दी भाग्ने प्रयास गरे । जेलमा आगो लागेको बहाना गरेर कुम्लोकटुरो बोकी निस्केका उनीहरू कारागार परिसरको गेट तोड्ने कोसिसमा थिए । तर, गेटबाहिर नेपाली सेना पुगिसकेकाले भाग्न भने पाएनन् ।
प्रहरीलाई कारागारभित्रैबाट ढुंगा हानिरहेका कैदीहरू सेनाले पोजिसन लिएपछि रोकिए । यद्यपि, गेट तोडेर बाहिर निस्केकाहरूलाई पछि सेनाले नियन्त्रणमा लियो ।
यही कारागारमा रहेका गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भने भाग्ने प्रयास गरेको समूहमा कतै देखिएनन् ।
खासमा उनलाई जहाँ राखिएको थियो, त्यहीँ बसिरहेका थिए । केही कैदीले उनलाई देशको माहोल फेरिएको, कारागारमा आगो लागेकाले बाहिर निस्कने मौकाको फाइदा उठाउन भनेका थिए । तर, उनी 'जान्नँ, तिमेरु जाओ' भनेर निस्कन नमानेको सेनाको नियन्त्रणमा परेका एक कैदीले बताए ।
उनका अनुसार, मनाङले आफू भाग्न नभएर सजाय काट्न आएको प्रतिक्रिया दिएका थिए ।
०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका मनाङे गत ४ असारमा गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त भएका थिए । उनी ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका छन् ।