बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्णरूपमा प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिम्स्टेक स्थापनाको २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार, जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील, अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताउनुभयो।
सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकांक्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय संगठनले केही उल्लेखनीय उपलब्धि हाशिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले संगठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र, विविध सामर्थ्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा संगठनले क्रमशः प्रगति गरेको बताउनुभयो ।
जनता–जनताबीचको सम्पर्क विस्तारको मुख्य भूमिकामा रहेको नेपालले यस क्षेत्रको साझा समृद्धिका लागि सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर अर्थपूर्ण साझेदारी र एकता तथा मैत्रीको भावनाका साथ काम गर्ने उहाँको भनाइ छ ।
बिम्स्टेकको सफलतामा नै यो क्षेत्रको शान्ति, समृद्धि र जनताको साझाहित निहित रहेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री दाहालले विकास परियोजनाको कार्यान्वयनका लागि बृहत राजनीतिक प्रतिबद्धता तथा समझदारी कायम गर्न अपरिहार्य भएको पनि बताउनुभएको हो ।
गत महिनादेखि लागू भएको बिम्स्टेक बडापत्र जनता केन्द्रित विकासका साथै बिम्स्टेक क्षेत्रको समग्र विकासमा सहयोगी भएको उहाँले उल्लेख गर्नुभएको छ ।