राजनीतिक दलसँग विपदमा खट्ने स्वयंसेवकको विवरण गृहमन्त्री लामिछानेले मागे
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपदको समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको छ ।
मनसुन पूर्वतयारी र प्रतिकार्य सम्बन्धमा बिहीबार राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उहाँले राजनीतिक दलहरुसँग विपदमा स्वयंसेवा गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको हो । गृहमन्त्री लामिछानेले मनसुनजन्य विपदमा स्वयंसेवकहरुको आवश्यक पर्ने उल्लेख गर्दै दलहरुले आफ्नोतर्फबाट कति स्वयंसेवक दिन सक्छन् सोही अनुसार मन्त्रालयले योजना बनाउने बताउनुभएको छ ।
दलहरुले दिने जनशक्तिमध्ये कति जना विपदमा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सोही कुरा पनि खुलाउन उहाँले गर्नुभयो । राजनीतिक दलहरुको संगठन सबैतिर हुने भन्दै सोही संगठनलाई विपद व्यवस्थापनमा लगाउदा प्रभावकारी हुने उहाँको भनाइ छ ।
प्राकृतिक विपदको समयमा काम गर्नका लागि राजनीतिक दलहरुको साझा मञ्च बनाउनु आवश्यक रहेको बताउदै गृहमन्त्री लामिछानेले यसतर्फ पनि आफूले सोचेको बताउनुभयो ।