२ दिनभित्र कार्यविधि बनाउने सहकारी छानविन समिति बैठकको निर्णय
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले २ दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको समितिको बैठकले २ दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो । कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ ।
समितिको पहिलो बैठक सभामुख देवराज घिमिरे समेतको उपस्थितिमा बसेको हो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समितिका संयोजक सूर्य थापालाई हस्तान्तरण गर्नुभएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक थापाले तोकिएकै समयमा अनुसूचीभित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिनुभयो । समिति सदस्यहरुले ३ महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिवद्धता पनि त्यहीं रहेको उहाँले बताउनुभएको छ ।
समितिका सदस्य शिशिर खनालले पनि तोकिएको समय ३ महिनाभित्रै काम सम्पन्न गरिने बताउनुभयो । उहाँले आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताउनुभएको छ ।
समितिको ३ महिनाको समय बुधबार पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने भएको हो। सोही समितिको अर्को बैठक भोलि शुक्रबार बस्ने जनाइउको छ ।