प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको निमन्त्रणा
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गर्नुभएको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री दाहाललाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको हो । जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिका विषयमा छलफल गर्नका लागि राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ तारिखमा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको छ।
महासचिव गुटेरेसले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा प्रधानमन्त्री दाहालले आभार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताउनुभएको छ ।
राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्वपूर्ण सहयोग गर्दै आएको बताउदै सिङ्गरले पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि समिटमा भाग दिनुपर्ने बताउनुभयो ।