शरणार्थी प्रकरणमा एमाले अध्यक्ष ओलीको आशंका : बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिने क्रममा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय रहस्यपूणर् भएको टिप्पणी गरेका हुन्।
‘ यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं । चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूणर् ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूणर् छ । भागेर जाने कुरा होइन ।’
निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने बताएका उनले दोषि भए कारबाही हुनुपर्ने बताए । आफूले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको उनको भनाई छ ।
पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताएका ओलीले, रायमाझी काठमाडौं आउँदै गरेको समेत बताए ।