रास्वपाको महाधिवेशनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार महाधिवेशनका लागि आवश्यक संगठनात्मक संरचना तयार गरिएको हो। सो संरचनाअन्तर्गत १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति गठन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन्। आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली रहेका छन्।
महाधिवेशन सञ्चालन गर्ने निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्य रहेका छन्।
समितिको कामलाई सहयोग गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा निर्वाचन कर्मचारीका रूपमा तोकिएका छन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउने र निर्वाचन प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। पार्टीको महाधिवेशन चितवनमा जारी रहेको छ।