नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बनाउने तयारी
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देसाइलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो ।
भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए । तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन ।
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तवार्ताबाट देशाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो ।
देसाईले सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ । त्यस्तै उनले सन् २०१९ को अक्टोबरमा यूएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही सयमा क्यानडाको प्रशिक्षक पनि थिए ।
देसाई सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा नेपालका ब्याटिङ सल्लाहकार थिए ।
नेपाली टोलीको खस्किँदो ब्याटिङ सुधारका लागि उनको आवश्यक क्यानले ठानेको छ ।
क्यानका प्रवन्धक बृतान्त खनालले प्राविधिक समितिले बोर्डलाई देसाईको नाम सिफारिस गरेको र दुई दिनमा उनलाई नियुत्ति गरिने जानकारी दिए ।