बुद्ध जयन्तीको शुभकामना राष्ट्रपति भण्डारीद्वारा
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डरीले आज जारी गरेको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त आह्वान गरेकी हुन् ।
सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको सन्देशमा छ । नेपाली भूखण्डमा प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्चस्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट परेको बताइएको छ ।