भोटेकोशी बाढीले लाङटाङ खोला जलविद्युत् आयोजना तहसनहस, ६० जना सम्पर्कविहीन
एक सातापछि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको रसुवाको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोशी नदीमा आएको भीषण बाढीले तहसनहस भएको छ ।
बाढीले आयोजनाको पावर हाउस पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर बुधबार बिहानदेखि सम्पर्कविहीन छन् ।
निर्माण कम्पनी मल्टी इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा आयोजनाका कर्मचारी तथा मजदुर सुरुङभित्र कङ्क्रिट ढलानको काममा व्यस्त थिए । आयोजनामा कम्पनीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए ।
चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको हो । भट्टराईका अनुसार बाढी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको थियो ।
‘अर्को साता बत्ती बाल्ने तयारी थियो । तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला । तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’को संज्ञा दिएका छन् ।
उनले आयोजनाको क्षतिभन्दा अहिले सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजी र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताए । ‘प्रोजेक्ट त फेरि बनाऔँला, तर मान्छे कहाँबाट ल्याउने ?’ भन्दै उनले भौतिक क्षतिभन्दा मानवीय क्षति नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताए ।