विनाशकारी बाढीमा परी घाइते भएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै
रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँका विभिन्न अस्पतालमा २५ जना, रसुवा अस्पतालमा ३७ जना, त्रिशूली अस्पतालमा १६ जना र नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ११ जनाको उपचार भइरहेको छ ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिनेश रुपाखेतीले रसुवा अस्पतालमा ३७ जना, त्रिशूली अस्पतालमा १६ जना र नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ११ जनाको उपचार भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २५ जनाको उपचार भइरहेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको छ । प्रहरीका अनुसार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जनाको उपचार भइरहेको छ । उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाईंकुण्ड–५ का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रूपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगर रहेका छन् ।
त्यस्तै, गोरखा टिमुरे गोसाईंकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ ।
शिक्षण अस्पतालमै टिमुरे गोसाईंकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचा उपचाररत छन् ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ भने घाइतेलाई विभिन्न अस्पतालमा ल्याएर उपचार गराउने क्रमसमेत जारी रहेको छ ।