राजनीतिले पाएको गहिरो संकेत काठमाडौं महानगरमा बालेनको अग्रता
राजनीतिक व्यवस्थालाई बेलाबखत परीक्षण गर्ने गतिलो माध्यम हो निर्वाचन । लोकतान्त्रिक व्यवस्थामा अन्य बेला दल र तिनका नेताको दबदबा हुने गरेपनि आवधिक निर्वाचनमा भने निर्णयको अधिकार जनताको मुठ्ठीमा हुन्छ ।
अधिकार प्रयोग गरिँदा परिवर्तन गरिहाल्ने मनस्थिति बन्दैन, तर अति भएपछि भने निर्वाचनको मत मार्फत असन्तुष्टि व्यक्त हुन्छ । अहिलेको स्थानीय निर्वाचनको मत परिणामले पनि पनि यही संकेत हो ? यो प्रश्नले आम नागरिकको मानसपटलमा डेरा जमाइरहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदको नतिजा बाहिरिँदै गर्दा यतिबेला मुलुकभर मात्रै होइन विदेशमा बसिरहेका नेपालीमा समेत कौतुहलता बढेको छ । निर्वाचन अघिको माहोल जति रोचक थियो, प्रारम्भिक मत परिणामले त्यसलाई नयाँ उचाईंमा पु¥यायो । पाँच दल मिलेर कांग्रेसबाट सृजना सिंहलाई उम्मेदवार बनायो । नेकपा एमालेले भने गठबन्धन पछार्ने रणनीतिसहित केशव स्थापितलाई मैदानमा खटायो ।
सत्तापक्ष र प्रतिपक्षबीच हुने भनिएको भिडन्तमा दलगत टेको बिना मैदानमा उत्रेका बालेन शाहले चुनौती दिनुलाई अवमूल्यन गर्न सकिँदैन । मुलुक दलगत राजनीतिमा चुर्लुम्म डुबेको सन्दर्भमा अहिलेको मत परिणामले तरंग ल्याउनुलाई स्वाभाविक मान्नुपर्छ । स्थानीय निर्वाचनमा काठमाडौंका मतदाताको रोजाईमा नयाँ अनुहार बालेन शाह पर्नुको कारण खोज्नेहरु अलमलमा छन् ।