सिसी क्यामेरासहित मतगणनास्थल तयार मनाङमा
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ ।
चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना गर्न सहज बनाउने उद्देश्यले मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत गणना गर्न स्थलको निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे गाउँपालिकाको मतगणना मनाङ जिल्ला अदालतको कार्यालयमा गणना गरिने उहाँले बताउनुभयो ।
जिल्लाका सबै पालिकाको मतगणनास्थल निर्माण गरिएको उहाँले बताउनुभयो । सिसी क्यामेरासहित मतगणनास्थलमा तारबार गरिएको छ । बारभन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।