अर्थ मन्त्रालय भर्सेस राष्ट्र बैंक र अर्थतन्त्रका दुई सूचक
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदमा निर्वाचित भएलगत्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को आर्थिक स्थितिबारे प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनमा अर्थतन्त्रको सूचक सन्तोषजनक थिएन । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १.६ प्रतिशतले घटेको थियो ।
अहिले पनि यिनै दुई सूचक अर्थतन्त्र सुधारका लागि चुनौती बनेका छन् । अनियन्त्रित आयातले विदेशी मुद्रामा चाप पर्न थालेपछि अर्थ मन्त्रालयले कात्तिक पहिलो सातादेखि राष्ट्र बैंकलाई आयात नियन्त्रणका कदम चाल्न सुझाव दिएको थियो । विभिन्न अर्थविद्हरूले आयात र घर–जग्गामा सस्तो ब्याजदर (तत्कालीन समयमा ६–७ प्रतिशत) को ऋण लगानी भइरहेको जानकारी अर्थ मन्त्रालयलाई दिएका थिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनीलगायतले ब्याजदर पुनरावलोकन तथा आयातमा गइरहेको ऋणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने गरी कडाइ गर्न सुझाव दिएका थिए ।