चितवन राष्ट्रिय निकुञ्जबाट ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो
चितवन, असार १
पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जस्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका २,३१५ घडियाल गोही विभिन्न नदीमा छाडिएको छ। सन् १९८१ यता आठ वटा नदीमा ती गोहीहरू छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका अनुसार सबैभन्दा बढी १,५६० गोही राप्ती नदीमा छाडिएको छ। त्यस्तै नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबईमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० गोही छाडिएको छ।
चालु आर्थिक वर्षमा मात्रै २२५ गोही नदीमा छाडिएको छ, जसमा १४ भाले र २११ पोथी रहेका छन्। यस वर्ष हालसम्मकै बढी संख्यामा गोही छाडिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सन् २०२१ र २०२२ मा सङ्कलित अण्डाबाट कोरलिएका १४६ बच्चा गोही यस वर्ष नदीमा छाडिएको हो। हाल प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन्।
यद्यपि संरक्षण प्रयासका बाबजुद नदीमा देखिने घडियालको संख्या भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन। गत वर्ष राप्ती र नारायणी नदीमा गरिएको गणनामा ३६६ मात्र गोही भेटिएको थियो।
घडियाल गोही विश्वमै संकटापन्न अवस्थामा रहेको सरीसृप हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यानमारमा समेत पाइने यो प्रजाति अहिले नेपाल र भारतमा मात्र सीमित छ।
विशेषज्ञहरूका अनुसार नदीमा बढ्दो मानवीय गतिविधि, अवैध उत्खनन र प्रदूषणका कारण यसको प्राकृतिक वासस्थान जोखिममा परेको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो।