युवालाई विदेशिनु पर्ने बाध्यता अन्त्य गर्ने सरकारको लक्ष्य: अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनु पर्ने बाध्यता क्रमशः अन्त्य गर्दै जाने सरकारको लक्ष्य रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार पछिल्ला १५–२० वर्षदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य हुँदै आएका छन्, तर सरकारले आगामी बजेटमार्फत त्यस प्रवृत्तिलाई बदल्ने प्रयास सुरु गरेको छ। उनले यो योजनालाई पाँच वर्षभित्र निष्कर्षमा पुर्याउने लक्ष्य रहेको बताए।
अर्थमन्त्री वाग्लेले भने, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ। बजेट पढ्नुहोस्, त्यसको कार्यान्वयनले नयाँ बाटो समात्छ।”
उनले युवामैत्री नीति अन्तर्गत कर प्रणालीमा सहुलियत, प्रशासनको डिजिटलाइजेसन र सुशासन सुधारलाई प्रमुख एजेन्डा बनाइएको जानकारी दिए। साथै, एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई कर झन्झटबाट मुक्त गरिएको उनले बताए।
कर बक्यौता र कानुनी उल्झनमा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर दिन बजेटमा सहुलियत व्यवस्था गरिएको पनि उनले उल्लेख गरे। त्यस्ता नीतिहरूले उद्यमशीलता र लगानी वातावरण सुधार्ने उनको दाबी छ।
उनका अनुसार आगामी बजेटले युवाको उद्यमशील सोचलाई विस्तार गर्ने उद्देश्य राखेको छ र त्यसैअनुसार विभिन्न कार्यक्रम अघि सारिएको छ।