भोलिदेखि नै मतपत्र ढुवानी गरिने
निर्वाचन आयोगले मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको बताए ।
निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।
निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुले पनि निर्वाचनको सूचना दिने पौडेलले बताए ।