सूर्यविनायकमा नगर अस्पताल बन्यो, एक महिनाभित्र सञ्चालनमा आउने
कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरबासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।
अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँच वटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए।
अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका-८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण लगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको उनले जानकारी दिए।
नगरप्रमुख थापाले भने, ‘हामी निर्वाचित भएर आएपछि चुनावमा गरेका सबै घोषणा पूरा गरेका छौं, दुर्गम मानिएको गाउँ-गाउँमा सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्य चौकी पुर्याउने काम सम्पन्न गरेका छौं, अब आफ्नै नगर अस्पताल सञ्चालन गर्ने धोको पूरा भएको छ, अबको एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउँछौं, हाम्रा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर लागिरहेका छौं।’
नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा. सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरू गरिसकेको उनले जानकारी दिए।
अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, एचडियू, ओपिडी, जनरल वार्ड लगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए।