चार महिनामा उद्योगलाई थप १५० मेगावाट बिजुली, २१० मेगावाट दिन तयारी
वर्षायाममा विद्युत खेर जान थालेपछि खपत बढाउन विद्युत प्राधिकरणले यो वर्ष निकै दौडधुप गर्यो । विशेष गरी प्राधिकरणकै नेतृत्वले नै उद्योगहरुमा ‘घरदैलो’ गर्दै आवश्यक विद्युत् लिन आग्रह गरेको थियो, परिणाम स्वरुप नेपाल चालू आर्थिक वर्ष २०७८र७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड पाएका छन् ।
प्राधिकरणका अनुसार सात वटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन (जीआईएस० गरिएको छ । ५ वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जीआईएसको प्रक्रियामा रहेको छ ।
लोड स्वीकृत, जीआईएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब ३६० मेगावाट विद्युत खपत हुने देखिएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु छन् । जीआईएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत उपलब्ध गराउन सकिने/नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जीआईएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच गि्रड कनेक्सन सम्झौता गरेर लोड दिइन्छ ।
आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
ठूलो परिमाणमा विद्युत माग गर्ने ग्राहकहरुलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियमअनुसार गर्नुपर्ने जीआईएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागू गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए । अहिलेको माग देशमा उत्पादित विद्युत यहींभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।